धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ। नदीलाई सफा बनाउन निरन्तर रूपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ। नदी पूर्ण रुपमा सफा हुन नसके पनि सौन्दर्यीकरण अन्तर्गत बागमती नदीको दायाँ बायाँ कोरिडोर सहित बागमतीलाई सुन्दर र मनमोहक सौन्दर्य थपेको छ।
उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वाग्मती सभ्यताको पहिचान गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले वाग्मती करिडोरमा पार्क निर्माणलाई जोड दिँदै आएको छ।
गोकर्णेश्वर नगरपालिका क्षेत्र हुदै बग्ने बागमती नदी कोरिडोर सफा र हराभरा भएसँगै विहान र साँझको समयमा शारीरिक व्यायाम गर्नेहरुको बाक्लो उपस्थिति हुन थालेको छ। त्यसै गरि अत्तरखेल र माकलबारी तिर बाग्मती नदीको किनारमा हरेक साँझ सानोतिनो मेला नै लाग्छ।
सिनामंगलदेखि उत्तर गोकर्णसम्मको कोरिडोर स्वच्छ र सफा भएका कारण आजभोलि साँझतिर मेला नै लाग्ने गर्दछ। यो ठाउँमा नदी किनार सुन्दर छ र फोहर र दुर्गन्धबाट मुक्त भएर बागमती बग्ने गरेको छ। बढ्दो गर्मी र दिनभरको घर, कार्यालयको व्यस्ततामा टहल्ने ठाउँको रुपमा नदी किनार परिणत भएको छ। गोकर्ण क्षेत्रमा नदी किनारमा विश्राम स्थल, क्रियापुत्री घर समेत बनेको छ।
नेपाल सरकार सहरी विकास मन्त्रालय अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले गरेको कामले सो क्षेत्रमा बागमती निकै सफा बग्न पाएको छ। समितिले निजी क्षेत्रसहितको सहभागिता नदी किनारामा ३१ वटा हरियाली प्रवर्द्धन तथा उद्यानहरु निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यकरणको काम भइरहेको छ।
नदी वरपर फुटपाथ, साइकल लेन, विश्रामस्थल आदि बनेका छन। यस उदाहरणीय कामले सहरको स्वरुप बदलिएको छ। आयोजनाले सिनामंगल उत्तर गोकर्णसम्मको ७.५ किमी नदीको दुवै किनारा सिंगारेको छ। थापाथली पुलदेखि बल्खुसम्मको क्षेत्रमा पनि यस्तै सिंगारपटार भएको छ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


