काठमाडौं– कोशी प्रदेशको सत्ता राजनीतिले कांग्रेसको आन्तरिक राजनीतिमा देखा परेको किचलोबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीसँग छलफल गर्ने भएका छन्।
देउवाले कोशी प्रदेशका बारेमा छलफल गर्न निजी निवास धुम्बराहीमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङलाई बोलाएका छन्। तर, गुरुङ भने इन्डोनेसियामा रहेकाले छलफलमा उपस्थित हुने छैनन्।
देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन्।
कांग्रेसमा विद्रोह गरी एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन्। कार्की नेता डा शेखर कोइराला निकट हुन्।
शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमाले र कांग्रेसका एक/एक जनालाई मन्त्री बनाएका छन्।
वर्तमान सत्ता गठबन्धनले कोशी प्रदेशमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
गठबन्धनको निर्णय विरुद्ध एमालेको सहयोगमा कार्की मुख्यमन्त्री नियुक्त भए।
कार्की मुख्यमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाले उनी नै गठबन्धनको मुख्यमन्त्री हुने बताएका थिए। तर कार्कीले सरकारमा एमालेलाई सहभागी गराएका छन्।
यस्तै विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभाको बैठक समेत डाकिएको छ। यस्तो अवस्थामा देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्न लागेका हुन्।
कार्की मुख्यमन्त्री बनेपछि संसदीय दलको नेताबाट उद्धव थापाले र उपनेताबाट हिमाल कार्कीले राजीनामा दिएका छन्।
यसअघि नेता शेखर कोइला, देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच गठबन्धन कायम राख्न चिर्कटो सहमति भएको थियो। तर उक्त सहमति तोड्दै कोशीमा कार्कीले एमालेका सांसदलाई पनि मन्त्री बनाएपछि कांग्रेसमा किचलो छ। सत्तागठबन्धन कमजोर हुने भय प्रचण्ड र माधवकुमार नेपाललगायतलाई छ।
