विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ।
कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेपछि माओवादीले यस्तो निर्णय लिएको हो।
सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर कार्कीलाई विश्वासको मत दिन सक्ने निर्णय गरेको हो।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
कार्कीले एक जना कांग्रेस र एक जना एमालेका सांसदलाई मन्त्रीमा नियुक्त गरिसकेका छन्।
कार्की कांग्रेसमा शेखर कोइराला पक्षका नेता हुन्।


