बेइजिङ (चीन)- जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन्।
बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल मंगलबार हुने कार्यक्रम छ।
वाङ चिनियाँ कम्युनिस्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर हुन्।
उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछन्।
उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ।
यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ।
श्रेष्ठले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ।
सोमबार उनी काठमाडौँबाट चीनको सिचुवान प्रान्तको छेन्दु पुगेका थिए। उनी छेन्दुबाट बेइजिङ पुगेका हुन्।
सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको सहभागिता हुने बताइएको छ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत सहभागी छन्।


