काठमाडौँ- दसैँ नजिकिएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनलमा आन्तरिक यात्रुहरुको भिड बढ्न थालेको छ।
अहिले देशभरका अधिकांश विमानस्थल भएको स्थानमा मौसम पनि सफा रहेकाले उडान पनि बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलतर्फको टर्मिनल भवनमा राखिएका पसल र बोर्डिङ पास कक्षमा मंगलबार पर्यटनमन्त्री किरातीले अनुगमन पनि गरेका छन्।
टर्मिनल भवनमा राखिएका सामान र हवाई टिकटको भाडा बढी लिएको गुनासो बढेपछि अनुगमन गर्नुपरेको उनको भनाइ छ। अनुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा लिएको नदेखिएको उनले बताए। हवाइ भाडा पनि सस्तो बनाउने प्रयास भइरहेको उनको भनाइ छ।
सोमबार पर्यटन मन्त्री सुदन किराती र व्यवसायीबीच महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने सहमति वायुसेवा प्रदायकसँग गरेका छन्।
यो सहमतिबाट यात्रुलाई खास फाइदा भने हुने छैन। किनभने दशैंमा घरजाने अधिकांश यात्रुले टिकट बुकिङ गरिसकेका छन्।











