उदयपुर – श्रीमतीको हत्या गरेको आरोपमा उदयपुरमा श्रीमान् पक्राउ परेका छन्।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-५ श्रीपुरका ३२ वर्षीय पिटर राई छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख रमेश थापाले बताए।
पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।
घटना पिटरकी जेठी सासुको घरमा भएको हो। राति करिब साढे ८ बजे खाना खाने समयमा श्रीमान्-श्रीमतीबीच विवाद भएको थियो।
उनीहरूबीच आपसमा शंका-उपशंकाको विवाद थियो। त्यही विवाद बढ्दै जाँदा पिटरले श्रीमतीमाथि कुकर प्रहार गरेको थापाले बताए।
‘टाउको, नाक, मुखमा कुकर प्रहार भएको देखिएको छ,’ थापाले भने।
घटनाबारे राति १० बजे प्रहरीमा जानकारी आएको थियो। जेठीसासु इन्द्रकुमारी राई पनि सामान्य घाइते छिन्।


