काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको दिनदेखि राजनीतिक सहमति बनाउने प्रयास गरिरहेको बताएका छन्।
नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले दलहरुको बीचमा विस्तारै राजनीतिक सहमति बन्दै गइरहेको बताए।
‘प्रमुख दलहरुको बीचमा सहमति बनाउने प्रयास भइरहेको छ, त्यसको नतिजा चाँडै बाहिर आउँछ,’ उनले भने।
शान्ति प्रकृया लगायतका विषयमा पनि दलहरुको बीचमा सहमति भइरहेको बताउँदै उनले सोही सहमतिको प्रयासस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुन लागेको बताए।
‘यो बीचमा मैले अन्तर्राष्ट्रिय भ्रमण पनि गरेको छु, भारत, चीन र अमेरिकाको भ्रमण गरेर मैले जुन कुटनीतिक पहल गरे त्यसैको परिणामस्वरुप महासचिव गुटरेस तीन दिने भ्रमणका लागि आउँदै हुनुहुन्छ, उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुहुन्छ, शान्ति प्रकृया र नेपालको आर्थिक विकासको लक्ष्यबारेपनि सम्बोधन गर्नुहुन्छ।’
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस फर्केपछि कतारका राजा पनि भ्रमणमा आउन लागेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराए। यी सबै कुटनीतिक सफलताको परिणाम रहेको उनले बताए। यी भ्रमणले नेपालको प्रतिष्ठा बढाउनेमा आफूले विश्वास लिएको पनि उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन्। ’दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु,’ उनले भने।
राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे। सभापति देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन।’
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए। उनले भने, ‘दलभित्रको फरक मत हुन सक्लान्, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ।’
सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबिच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरुप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो।


