काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा आइतबार दिउँसो भेटवार्ता भएको हो।
भेटमा राष्ट्रपति पौौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका थिए।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु परिवर्तनका कारक विकसित मुलुकलाई दायित्व पूरा गर्न राष्ट्रसंघले पहलकदमी लिन पनि उनको आग्रह थियो।
नेपालको औपचारिक भ्रमणमा आएका गुटेरेसले राष्ट्रपति पौडेलसँग त्यस्तो आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
‘जलवायु परिवर्तनको कारण हामी होइनौँ, अरुले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौँ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण बिगार्नेहरुलाई दायित्व पूरा गर्न झक्झक्याउनुपर्दछ’, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै पोखरेलले भने, ‘हामीले त व्यहोर्यौ व्यहोरयौ अब सारा विश्व र मानजजातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरौँ। त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ।’
सगरमाथा र अन्नपूर्ण आधारशिविरजस्ता ठाउँहरुको भ्रमण महासचिवले आफैँ गर्ने भएकाले हिमालमा परेको जलवायु परिवर्तनको असर, अतिवृष्टि र अनावृष्टिका प्रभाव महसुस गर्न पाउने भएकाले थप गम्भीर बन्न सहयोग पुर्याउने विश्वास पनि पौडेलले व्यक्त गरे।
राष्ट्रपति पौडेलले शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पूरा हुने बताएका थिए।
अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठूलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका थिए। पौडेलले शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि आग्रह गरे।
महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताएका थिए।
आफ्नो नेपाल भ्रमण तीन एजेण्डामा केन्द्रित रहेको बताउँदै गुटरेसले सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनिकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकोले यहाँ आएको उल्लेख गरेका थिए।
राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा गरेको स्मरण गराउँदै आफ्नै कार्यकालमा यसको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका थिए।
भेटमा परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रपति कार्यालयका सल्लाहकारहरु, पदाधिकारीहरु तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो।
आइतबारै गुटेरेसले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आइतबार अपराह्न भेटवार्ता भएको हो।

ओलीसँगको भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए।
देउवासँगको भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए।
महासचिव गुटरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन्।
यसअघि उनले संसद भवन पुगेर सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए।

गुटरेसले त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
उनले उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम तय छ।
प्रधानमन्त्री दाहालले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्दैछन्।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन्।
भ्रमणका क्रममा सोमबार गुटरेस नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्।
यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।


