न्युयोर्क- पोर्नस्टारलाई रकम दिएर चुप लगाएको लगायतका विभिन्न आरोप खेपिरहेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालत उपस्थित भएर बयान दिएका छन्। मंगलबार उनी आफैँ उपस्थित भएर बयान दिएका हुन्। म्यानहट्टन अदालतमा न्यायाधीश जुआन मार्चानको इजलासमा उनले बयान दिएका थिए।
अदातल पुगेका ट्रम्पलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो। अदालतमा बयान सुरु हुनु अघि उनी प्रहरी हिरासतमा बसेका थिए।
फौजदारी अभियोग सामना गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्। ट्रम्पले आफूले कुनै अपराध नगरेको भन्दै दाबी गरेका छन्। ट्रम्पले आफ्नो व्यापार रेकर्डमा पनि कुनै गल्ती नभएको दाबी गरे।
राज्यले आफूलाई पटकपटक गलत आरोप थोपरेर गैरनागरिकलाई जस्तो व्यवहार गरेको उनको गुनासो छ। सन् २०१६ देखि नै आफूमाथि नियोजित आक्रमण भइरहेको उनको भनाइ थियो।
पोर्नस्टारसँग जोडिएपछि ट्रम्पले खेप्दैछन् फौजदारी मुद्दा, पैसा दिएर चुप लगाएको आरोप
‘यो कुनै पनि अमेरिकी पूर्व राष्ट्रपतिमाथिको ठगी र अपमान हो। मलाई यो अवस्थामा पुर्याउनेरुलाई लाज लाग्नुपर्छ,’ ट्रम्पले भनेका छन्।
उनले अमेरिका नरकमा जाँदै गरेको पनि टिप्पणी गरे। ‘अहिले अमेरिकामा भइरहेका हर्कत देखेर सारा विश्व हाँसिरहेको छ, हाम्रो देश नरकमा जाँदैछ,’ ट्रम्पले भनेका छन्।
बयान सकिएपछि ट्रम्प फ्लोरिडा फर्किएका छन्। उनी फ्लोरिडामा बस्दै आएका छन्।
