काठमाडौँ- नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम रहने भएको छ।
मानव अधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो।
गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए।
एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ।
आयोगका पदाधिकारीहरुको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न गानरीमा सिफारिस गरेका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आयोगका अध्यक्षसहित पदाधिकारी नियुक्ति हुँदा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई ५ सदस्यीय परिषदका ३ सदस्य मात्र उपस्थित भएर निर्णय गरिएको थियो।
त्यस्तै उनीहरुको संसदीय सुनुवाइ पनि नभई नियुक्ति भएको थियो।


