सबैभन्दा पहिला उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्दै जापान सरकार र जाइका नेपालमार्फत नेपालको विकासमा जापानले दिँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।
आज उद्घाटन हुन लागेको आम्दा नेपालअन्तर्गत स्थापित सिद्धार्थ बाल तथा महिला अस्पतालले सञ्चालन गरेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) को विधिपूर्वक उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ। म आम्दा नेपाल परिवारमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
विश्वशान्तिका प्रवर्तक गौतम बुद्धको पवित्र जन्मभूमि तथा प्राचीन इतिहास र बुद्ध दर्शनको उद्गम भूमिका रूपमा परिचित कक्रुच्छन्द बुद्ध र कनकमुनि बुद्धको समेत जन्मभूमिका रूपमा चर्चित यस रूपन्देही क्षेत्रमा जापानका मानवसेवामा समर्पित प्रतिष्ठित डाक्टर सिगेरू सुगानामीसहितका व्यक्तिहरूको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुबैले आमा र बालबालिकाहरूको स्वास्थ्यमा पुर्याएको योगदानको प्रशंसा गर्दछु।
सन् १९८४ मा एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) का रूपमा स्थापित गैरनाफामुलक गैरसरकारी यस संस्थाले चिकित्सा शिक्षाका क्षेत्रमा समेत सहुलियतपूर्ण शुल्कमा सुलभ सेवा दिन स्थापित भएको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) मा नर्सिङ्ग, फार्मेसी र एच.ए. विषयको अध्यापन सेवा सुरू गर्नु यस क्षेत्रकै लागि खुसीको विषय हो। एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिक स्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धिपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु।
बालबालिका तथा महिलाहरूलाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीहरूको समेत स्तरीय उपचार गर्नुले यस अस्पतालको भूमिका मननीय छ भन्ने स्वतः स्पष्ट छ। पचास शय्याबाट सुरू भई हाल एक सय शय्यामा सञ्चालन भइरहेको यस अस्पतालमा पुनः तीन सय शय्याको सुविधा सम्पन्न अस्पताल बनाउनका लागि आज सो भवनको शिलान्यास भएको छ। साथै अनुसन्धानात्मक क्षेत्रमा समेत योगदान पुर्याउन पुस्तकालयको पनि निर्माण सुरू गरिएको छ। यसको महत्व अझ बढी उजागर गरेको छ।
पच्चीस वर्ष अगाडि स्थापित उपचारात्मक सेवा दिँदै आएको यस संस्थाले चिकित्सा शिक्षामा समेत पाइला चालेको छ। यो शैक्षिक कार्यक्रममा सरकारको तर्फबाट सक्दो सहयोग पुर्याइनेछ। साथै यस संस्थाबाट निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी गराउँछु।
मलाई विश्वास छ– यस संस्थाले स्वास्थ्य र शिक्षाका दुबै क्षेत्रमा उदाहरणीय काम गर्नेछ। यस नगरमा नमुना नर्सिङ्ग कलेज र नमुना महिला बाल अस्पतालको भूमिका पनि पूरा गर्नेछ। यस नर्सिङ्ग कलेजको सम्बन्धन प्रक्रियामा आइपरेका समस्या र चुनौतीको सामना गर्दै भरपुर प्रयत्नका साथ यस संस्थाका व्यक्तिहरू र पार्टीका नेता कमरेडहरूलाई यो पहलकदमीमा समर्पित भई लाग्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु।
वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ। मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शय्या निशुल्क उपलब्ध गराइएको छ।
पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ। सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ। यस्ता धेरै कामहरू अगाडि बढेका छन्– जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन्।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल हो। उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ। संविधानको उक्त व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु।
अन्तमा संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै यसको थप गुणस्तरीयता, सहुलियतपूर्ण जनपक्षीय सेवा र यस क्षेत्रकै उदाहरणीय स्वास्थ्य केन्द्रका रूपमा प्रतिष्ठित हुँदै जाने विश्वास व्यक्त गर्दै विदा हुन्छु। धन्यवाद।
(कात्तिक १६ गते बुटवलमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज)को उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको मन्तव्य)


