काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल तरुण दल काठमाडौँमा विवाद निम्तिएको छ। दलमा कार्यवाहक अध्यक्षका विषयमा विवाद निम्तिएको हो। दलका तत्कालीन अध्यक्ष खड्का र सचिव दिनेशविक्रम शाहबीच विवाद देखिएको हो।
नेपाल तरुण दल काठमाडौँमा अध्यक्ष कृष्णजी खड्का थिए। उनी केन्द्रीय सदस्यमा मनोनित भएपछि असोज २१ गते शपथ लिए। दलको विधानको धारा ३५ को उपधारा २ (क) मा दलको माथिल्लो पदमा मनोनित भएको अवस्थामा तल्लो तहको पद स्वत: रिक्त मानिने व्यवस्था छ।
खड्का केन्द्रीय सदस्य बनेपछि २३ गते उनले अनमोल श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए। अनमोल पार्टीको १४औं महाधिवेशनबाट काठमाडौं क्षेत्र नम्बर ३ को पार्टीको कोषाध्यक्षमा मनोनित भएका थिए।
विधानविपरीत अनमोललाई कार्यवाहक दिइएको भन्दै काठमाडौँ जिल्ला सचिव दिनेशविक्रम शाहले आपत्ति जनाएका छन्। ‘विधि र विधानको कार्यान्वयन गराउने व्यक्तिले नै विधानले नचिन्ने व्यक्तिलाई ल्याएर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गलत काम भएको छ,’ यसको सुधारका लागि आवाज उठाएका छौँ।
सचिव शाहको विरोधका बाबजुद श्रेष्ठले बुधबार दलको बैठक बोलाएका छन्। यसपछि सचिव शाहले बैठक बहिष्कार गरेका थिए।
सचिव शाहले बैठकमा नै गएर तरुण दलको गरिमालाई नै कमजोर बनाउने गरी विधानले नै नचिन्ने व्यक्तिलाई अवैधानिक रुपमा प्रदान गरिएको पत्रका आधारमा बोलाइएको बैठक वैधानिक हुन नसक्ने भन्दै बहिष्कार गरेको बताए।
तरुण दलको विधानको धारा ३५ को उपधारा २ (ख) मा नेपाली कांग्रेसको कुनै पनि तहको कार्यकारी पदमा रहेको दलको सदस्य दलको पदबाट स्वत: मुक्त मानिने उल्लेख छ। सोही प्रावधान अनुसार तरुण दलका उपाध्यक्ष रहेका श्रेष्ठ पार्टीको काठमाडौं क्षेत्र नम्बर ३ को कोषाध्यक्ष मनोनित भएपछि उनी स्वत: पदमुक्त भएको मानिन्छ। यद्पि केन्द्रीय सदस्य मनोनित भएपछि रिक्त रहेको कार्यवाहको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो।
श्रेष्ठ तरुण दलको चौथो महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ३ को अध्यक्षमा पराजित, १३औं महाधिवेशनमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ को इकाइ सभापतिमा पराजित भएका थिए।
पछि उनलाई दरुण दलको जिल्ला सदस्य मनोनित गर्दै जिल्ला उपाध्यक्ष बनाइएको थियो।


