विराटनगर – कोशी प्रदेशमा सहमतीय सरकार गठन गर्ने गृहकार्य सुरू भएको छ।
मुख्यमन्त्री केदार कार्की चाँडै नै कोशी प्रदेशमा सहमतिको सरकार विस्तार गर्न लागेको बताएका छन्।
यसका लागि उनी सबै राजनीतिक पार्टीहरूसँग परामर्शमा जुटेका छन्।
आफूलाई भेट्न पुगेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सरकार बनाउन सहयोग गरेकाहरूको एजेण्डा अनुसार नै प्रदेश सरकार विस्तार गरिने समेत बताए।
उनले आफू सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भइरहेको बताए।
मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन जस्ले समर्थन गरेको हो, उसको गुन नबिर्सिने बताए।
उनले पहिलेको सरकारले पटक-पटक सहमतीय सरकारको प्रयास गरेको र त्यसलाई आफूले सफल बनाउने धारणा राखे।
यता, मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिला गरेको आरोप लगाएको छ। ने
कपा एमालेका नेता एवम् कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले एमाललेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए।
उनले समर्थन गरेको दलको सल्लाह अनुसार सरकार गठन गर्नु पर्ने बताए।
मुख्यमन्त्री कार्की नेपाली कांग्रेसका ७ जना विद्रोही प्रदेश सांसद र नेकपा एमालेका ३९ जना सांसदहरूको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए।
कार्की मुख्यमन्त्री भएको १९ दिनसम्म पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन।
कार्कीलाई राप्रपाबाहेक अन्य सबै राजनीतिक दलले विश्वासको मत दिएका थिए।


