विराटनर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की दुई जनालाई मन्त्री बनाएका छन्।
कार्कीको सिफारिसमा मन्त्री बनेका दुवै जनाले शपथ लिएर कार्यभार पनि सम्हालेका छन्।
शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जबेगुले शपथ लिए।
कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर अहिले एमालेसँग परामर्श नगरी कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका हुन्।
कात्तिक १ गते कोशी प्रदेशसभामा विश्वासको मत लिँदा कार्कीले भारी बहुमत पाएका थिए। एमालेले पनि उनलाई विश्वासको मत दिएको थियो। तर अब एमाले सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको छ। कांग्रेस बाहेकका दललाई मन्त्री बनाए आफूहरू बाहिरिने भन्दै यसअघि नै एमालेले चेतावनी दिँदै आएको थियो।
पछिल्लो समय एमाले केही लचक बनेर गठबन्धनका अरु दललाई सरकारमा ल्याए पनि माओवादी ल्याउनै नहुने अडानमा थियो। तर एमालेको चेतावनीलाई कार्कीले लत्याइदिएका छन्। कार्कीको कदमबाट एमालेमा रोष पैदा भएको छ।
एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताए।
‘हामीलाई कुनै जानकारी गराएको छैन,’ कार्कीले भने, ‘यस विषयमा हामीले पहिले नै निर्णय गरिसकेका छौं।’
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सोमबार पार्टीमा छलफल हुने बताए। ‘त्यसपछि हामी निर्णयमा पुग्नेछौं,’ उनले भने।
सरकारमा एमालेका रामबहादुर राना मन्त्री छन्। उनलाई फिर्ता बोलाउने तयारी एमाले कोशी संसदीय दलले गरेको छ।


