चितवन- चितवनको सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ। पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो।
सौराहास्थित रेष्टुराँ एन्ड बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका खतिवडाका अनुसार गएराति ११:३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो। हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको भनाइ थियो।
हात्तीलाई मार्ने उद्देश्यले सुँड काटिएको हुनसक्ने खतिवडाको अनुमान छ। ४५ वर्षीया चन्चलकली हात्तीको सुँड ६ इन्च काटिएको छ। बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको सुँड काटिएको थियो। काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारका बारेमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरुबीच छलफल भइरहेको खतिवडाले जानकारी दिए।
हात्तीले खानका लागि आहारा तान्न र कुनै कुरा टिप्न सुँडको प्रयोग गर्दछ। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको छ। हात्तीको सुँड काटिएको यो पहिलो घटना हो।


