रुकुम पश्चिम- जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार राति गएको भूकम्पमा परी ८० जनाको ज्यान गएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीमा १ सय ५० जना बढी घाइते भएको विवरण पुगेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ। भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जनाको मृत्यु भएको छ। त्यहाँ ५५ जना घाइते भएका विवरण प्रहरीमा पुगेको छ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। क्षतिको विवरण प्राप्त हुने क्रम जारी छ। भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन गर्न सुरु गरिएकै छैन।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाका १६ जना स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन्। टोलीले आवश्यक उद्धार सामग्री पनि लिएर गएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो।










