काठमाडौं- सरकारले भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जानकारी दिए।
उनका अनुसार, भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ। अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ।
२०७२ मा गएको गोरखा भूकम्पपछिको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गरिने उनको भनाइ छ।
छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कसरी लिने र कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा थप छलफल गरिने मन्त्री बस्नेतको भनाइ छ।
शुक्रबार राति ११:४७ बजे जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी व्यक्त घाइते भएको विवरण प्राप्त भएको नेपाल प्रहरीले जानकारी दिएको छ। मृतकमध्ये ५२ जना रुकुम पश्चिम जिल्लाका हुन्। रुकुम पश्चिममा ७८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।


