पोखरा- गण्डकी प्रदेशले जाजरकोट भूकम्प प्रभावितको राहतका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडित राहतका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो।
‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने।
शनिबार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधिसहित विशेषज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए। ‘स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गरिरहनुभएको छ,’ उनले भने, ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ।’
यसअघि कोशी प्रदेश सरकाले जाजरकोट भूकम्पपीडितका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नगदका साथै राहत सामग्री पनि उपलब्ध गराउने निर्णय गरेको हो। त्रिपाल, कम्बल र मेट्रेसलगायतका सामग्री उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए।
‘कोशी प्रदेश सरकारले भूकम्प पीडितहरूका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै १ हजार थान कम्बल, १ हजार थान त्रिपाल र १ हजार थान मेट्रेस पठाउने निर्णय पनि भएको छ,’ कार्कीले भनेका थिए।
यस्तै लुम्बिनी प्रदेश सरकारले कर्णाली सरकारलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारको दाङको तुल्सीपुरमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।
शुक्रबार बिहानै लुम्बिनीका मुख्यमन्त्री चौधरीले मेडिकल सुपरिटेन्डेट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली कर्णाली पठाएका थिए।
यस्तै सुदूरपश्चिम प्रदेशले एक करोड र बागमती प्रदेशले डेढ करोड रुपैयाँ पीडितको राहतका लागि प्रदान गर्ने निर्णय गरेका छन्।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १०५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-तीन जना तथा रोल्पामा एक जना घाइते भएका छन्। प्रभावित क्षेत्रमा यसका लागि एक हजार ८ सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको थियो।
भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि ५ वटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको छ। सरकारले उद्धारको काम सकिएको बताएको छ। अब उपचार र राहत वितरणमामा केन्द्रित हुने उसको भनाइ छ।


