विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ। सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।
दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका हुन्। संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारी फर्कन आग्रह गरेका थिए।
राजनीति ‘ट्र्याक’मा आएका कारण राजीनामा फिर्ता लिएर पुरानै जिम्मेवारीमा फर्किएको थापाको भनाइ छ। बैठकले उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको छ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई चुनौती दिँदै कांग्रेसका ८ सांसदले केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री बनाउन भूमिका खेलका थिए।
कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने। पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए। उता एमाले भने कार्की सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरेको छ। सरकारमा माओवादी केन्द्र र नेकपा एस सहभागी भइसकेको छ।


