काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली कांग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा चेक हस्तान्तरण गरेको हो।
कांग्रेसले भूकम्पपछिको उद्दार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पनि पेस गरेको छ। भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ।
सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनर्स्थापनामा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजीकरण गर्नुपर्ने रहेको छ।
प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुशरण गर्ने बताए। खोज र उद्धारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताए।
‘हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतसँग छुट्टाछुट्टै कुरा भएको छ। उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताउनुभयो। यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ,’ उनले भने।
प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताए।
नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपदामा झैं यसपटक पनि सबै एकजुट भएको बताए।
नेपाली कांग्रेस संसदीय दलले पनि प्रत्येक संघीय सांसदको १५ दिनको सेवासुविधाको रकम भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ।
नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ। पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो।



