काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेलामा कोही छैन भनेर नआत्तिन भूकम्पपीडितहरूलाई आग्रह गरेका छन्। मद्दत गर्ने सरकार रहेको भन्दै उनले सबै मिलेर विपत्तिको सामना गर्न आग्रह गरे।
भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोटको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा राष्ट्रपति पौडेलले उक्त आग्रह गरेका हुन्।
‘अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला,’ उनले भने।
विपतको समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै उनले एकैपटक १० वटा कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था भएको बताए।
‘दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउदै नपाउने अवस्था नआओस्। हामी सबै मिलेर विपदको सामाना गरौँ, लोकतन्त्र तपाईहरूको साथमा छ,’ उनले भने।
तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गरे।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरीमध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराएका थिए।
भूकम्प प्रभावितहरुको अवस्था बुझ्न मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेका थिए।
भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए।
राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्।















