काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्पप्रभावित क्षेत्रमा जाने भएका छन्। राहत कार्यलाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्न उनीहरू प्रभावित क्षेत्रमा बुधबार नै पुग्ने कांग्रेसले जानकारी दिएको छ।
उनीहरूले आवश्यकताअनुसार सिधै प्रधानमन्त्री वा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउनेछन्। ‘महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्याउनु हुनेछ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले महामन्त्रीद्वयको नेतृत्वमा उद्धार, राहत र पुनर्स्थापनाका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति गठन गरिसकेको छ।
उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन गरिएको र सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको समेत जानकारी कांग्रेसले दिएको छ। देशभरका सार्वजनिक कार्यक्रमहरु स्थगन गरी जिल्लाजिल्लाबाट पार्टीका स्वयंसेवक राहत लिएर प्रभावित क्षेत्रमा पुगेको उसको भनाइ छ। शुभेच्छुक संस्था ‘डीडीए’ को संयोजनमा चिकित्सक र औषधि प्रबन्ध गरिएको पनि कांग्रेसको भनाइ छ।
महामन्त्रीहरु निम्न ‘७ बुँदे कार्य विषय’मा केन्द्रित कांग्रेसको भनाइ छ।
(१) उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचार माध्यम मार्फत उजागर कमजोरीहरुको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।
(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरु बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न÷गराउन थप सुझाव र सहजीकरण ।
(३) उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न÷गराउन सुझाव र सहजीकरण गर्ने ÷गराउने ।
(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भुमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनस्र्थापनामा सम्पादन गर्नुपर्ने बिषयहरुको अध्ययन गर्ने ।
(५) घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भुकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।
(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई बिशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।
(७) पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रुपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरु आईपर्न सक्छन्, सरोकारवालाहरुको सुझाबहरु के के छन्, आदि बिषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।


