काठमाडौँ- ओलम्पिक छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग १-५ गोलको फराकिलो हार व्यहोरेको छ। दशरथ रंगशालामा सम्पन्न पहिलो चरणको पहिलो खेलमा नेपाली महिला टोलीले घरेलु समर्थकमाझ ठूलो हार खेपेको हो।
खेलको ११औँ मिनेटमा गुइ हुगेनको पासमा पाम हाइ येनले हेडमार्फत नेपाली टोलीविरुद्ध सुरुवाती गोल गरिन्। ३५औँ मिनेटमा नेपालकी समीक्षा घिमिरेले पेनाल्टी बक्सभित्र ह्यान्डबल गरेपछि पाहुना टिमले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा भियतनामका पाम हाइ येनले गोल गरिन्। नेपाली डिफेन्डर अमृता जैशीले गम्भीर गल्ती गरेपछि नेपालले तेस्रो गोल बोक्यो। गुएन थी बिचथाले गरेको प्रहारतर्फ गोलकिपर एन्जिला गएपछि अमृताको खुट्टामा लागेर पोस्टभित्र छिरेको थियो। यससँगै ३७औं मिनेटमै नेपालले ३ गोल खाइसकेको थियो।
दोस्रो हाफको तेस्रो मिनेटमै नेपालले चौथो गोल व्यहोर्यो। यसपटक होङ लोनको पासमा ह्युन न्हुने हेडर गोल गरिन्। यससँगै नेपाल चार गोलले पछि पर्यो।
सरु लिम्बूको पासमा सावित्रा भण्डारीले एक गोल फर्काइन्। उनले ८०औं मिनेटमा गोलकिपर खोङ थी हाङलाई बिट गर्दै दोस्रो बारमा प्रहार गरेर गोल गरेकी थिइन्। सावित्राको यो ४१औँ अन्तर्राष्ट्रिय गोल हो।
नेपालले इन्ज्युरी समयमा पनि गोल खानुपर्यो। ङुयेन थीले टाढाबाटै नेपालविरुद्ध गोल गरेकी थिइन्। खेलको अन्तिम नतिजामा एक गोल मात्र गर्न सकेको नेपालले ५ गोल खेप्नु पर्यो।
