काठमाडौँ- कतारले इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेको पाइएको छ। दुई दिनको युद्धविराम गरेर १५ जना बन्धकको रिहाईका लागि कतारको मध्यस्थतामा वार्ता भइरहेको हो।
समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकासँगको समन्वयमा कतारी नागरिकको मध्यस्थतामा वार्ता जारी छ। वार्ताको संवेदनशीलताका कारण स्रोतले नाम सार्वजनिक गर्न भने अस्वीकार गरेको बताइएको छ।
प्यालेस्टाइनी लडाकू समूहले अक्टोबर ७ मा गरेको आक्रमणमा एक हजार ४०० भन्दा बढीको मृत्यु हुनुका साथै २४० भन्दा बढीलाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन्।
गाजामा इजरायलको जवाफी कारबाहीमा १० हजार ५६९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कतारले हमासको कब्जामा रहेका चार जना बन्धक (दुई इजरायली र दुई अमेरिकी) लाई सुपुर्दगी गर्न वार्ता गर्दै आएको छ।
धनी खाडी राष्ट्र कतार प्यालेस्टाइनी मुद्दाको समर्थक हो। गाजाका इस्लामी शासकहरू हमाससँग सञ्चारको खुला च्यानलहरू छन्।
मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अखडा रहेको कतारमा हमासको राजनीतिक कार्यालय पनि छ। त्यहाँ हमासका स्वनिर्वासित नेता इस्माइल हनियेहको मुख्य निवास पनि छ।


