काठमाडौं- अघिल्लो साताको शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भयो। हजारौं घरबारविहीन भए। जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण जनधनको ठूलो क्षति भयो।
सरकारले उद्धार कार्य सकेर राहत वितरणका काम भइरहेको जानकारी दिएको छ। प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र सामाजिक संस्थाले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत उपलब्ध गराइरहेका छन्।
प्रभावित क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, सांसद, राजनीतिक दलका नेताहरु पुगिसकेका छन्। सत्तासीन दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ३ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन्।
उनीहरुले घरबारविहीन भएकाहरुका लागि अस्थायी टहरा निर्माण गरिरहेका छन्। उनीहरुले विहिबार नालगाडमा अस्थायी टहरा निर्माण गरेका थिए। शुक्रबार (आज) भने खलंगामा टहरा निर्माणको काम भइरहेको थापाका सहयोगी सविनबाबु मुडभरीले जानकारी दिए।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रमा भइहरेको कमजोरीको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्नेछन्। कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरिसकेको छ। यही मेसोमा महामन्त्रीद्वय प्रभावित क्षेत्रमा गएका हुन्।

सरकारको राहत कोषमा पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ। सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नम्बर ४ र धादिङ जिल्ला कार्यसमितिलगायत कांग्रेसका विभिन्न तह र नेविसंघ, तरुणलगायतका भ्रातृ संस्थाले पनि राहत कोषमा सहयोग गर्ने गरी आर्थिक संकलन गरिरहेका छन्।

