भक्तपुर- भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा आइपुगेको चितुवालाई नियन्त्रणमा लिइएको छ।
बिहान २ महिलालाई आक्रमण गरी प्रबिन पेट्रोल पम्पपछाडि २ घरको चेपमा बसेको चितुवालाई पौने १२ बजे नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।
भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार ६५ वर्षीया अमृता कँडेल र २२ वर्षीया संगिता आलेमगर घाइते भएका छन्। घाइतेहरूको उपचार मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका प्राविधिक टोली बोलाइएको थियो। वन कार्यालयको टोली बिहान पौने ९ बजे चितुवा लुकेर बसेको स्थानमा पुगेको थियो।
चितुवालाई नियन्त्रणमा लिन चार पटक डार्ट हानिएको डिभिजन वन कार्यालय हात्तिसारका सूचना अधिकारी तथा वन अधिकृत अशोक पराजुलीले जानकारी दिए। पहिलो डार्ट भने चितुवालाई लागेको थिएन। तीन डार्ट लागेपछि चितुवा बेहोस बनेको थियो। यसपछि चितुवालाई उद्धार गरिएको थियो।



े


