पाल्पा- तिहारमा भाइटीका सङ्गै विभिन्न मिठामिठा परिकार सङ्गै कोसेली दिने प्रचलन छ। दिदीबहिनीले ढाकाको टोपी र दाजुभाइले दिदीबहिनीलाई ढाकाको चोलो, सल दिने चलन छ। यसले ढाका र तिहारबीच सम्बन्ध बनाइदिएको छ।
पाल्पालाई सरकारले ढाकाको राजधानी घोषणा गरेको छ। ढाकालाई प्राथमिकतामा राख्दै बजारमा मेसिनले बुनेको ढाकाको सामग्रीहरु बढिरहेको देख्दा पाल्पाका ढाका व्यवसायीहरु चिन्तित छन्। हाते तानले बुनेको ढाकालाई सरक्षण गर्न पाल्पाका ढाका उद्योगहरु मिलेर पाल्पाली ढाका संघ स्थापना गरेका छ्न्। ढाकालाई बजारीकरण र व्यवस्थापन गर्न लागि पाल्पाली ढाका संघ स्थापना भएको अध्यक्ष तथा पाल्पाली ढाकाकी संस्थापक पूर्णमाया महर्जनले बताइन्।

पाल्पाली ढाका संघमा हाल ९ वटा उद्योग आबद्ध छन्। इतिहास हेर्दा, पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौँमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो। २०१५ साल तिर स्व गणेशमान महर्जनले बङ्लादेशबाट तान ल्याएर पाल्पामा ढाका बुन्न सुरु भएको हो। ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पामा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको हो।
दसैँतिहार भनेको ढाकाको व्यापार उच्च हुने समय रहेको पौडेल पाल्पाली ढाका उद्योगका मनोजराज शर्मा पौडेल बताउँछन्। ‘दसै र तिहार लक्षित ढाकाको टोपि, सल, चोलो को व्यापार बढि हुने गर्दछ,’ उनी भन्छन, ‘छुट्टिको समयमा भ्रमण हरु पनि बढि आउने भएकाले पनि दसै तिहारमा व्यापार राम्रै छ।’

नयाँ पुस्तालाई मध्यनजर गर्दै पाल्पाका उद्योगीले ढाकाबाट उत्पादित कुर्ता, सर्ट, ल्यापटप ब्यागहरु पनि उत्पादनमा जोड दिएका छन्। काठमाडौंबाट रानीमहल घुम्न आएका तिलक न्यौपाने पनि ढाकाको नयाँ स्वरुपका रुपमा उत्पादन भएका सर्टहरु ल्यापटप ब्यागहरु पाएकोमा निकै खुसी भए।
तिहारको लगि ढाकाको टोपी मात्र नभई आस्कोट, टाइ, ब्याग दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका सामान हरु पनि पाउँदा निकै खुसि लागेको उनले बताए।










सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी


