मोरङ- मोरङमा नक्कली परीक्षार्थी बनेर परीक्षा लेखिरहेका १९९ जना पक्राउ परेका छन्। नक्कली परीक्षार्थी बनेर ठूलो संख्यामा अन्य व्यक्तिको नामबाट परीक्षा दिइरहेको सूचना आएपछि मोरङ प्रहरीले बिहीबार जिल्लाका तीन विद्यालयबाट १९९ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जननकुमार दाहालका अनुसार सार्वजानिक मावि केराबारीबाट मात्र १२७ जना पक्राउ परेका हुन्। ‘सार्वजानिक मावि केराबारीबाट मात्र १२७, सरस्वती मावि झोराहाटाबाट ५२ जना र जनता मावि हरैंचाबाट २७ जना पक्राउ परेका छन्,’ दाहालले भने, ‘उनीहरूमध्ये १९९ जना परीक्षार्थी हुन्।’
प्रहरीले बुधबार थप एकजना परीक्षार्थीलाई पक्राउ गरेको थियो। संस्थागत रुपमै विद्यालयमा नक्कली परीक्षार्थी सामेल गराएको आशंका प्रहरीले गरेको छ। यसमा विद्यालय, परीक्षा केन्द्र प्रमुख समेतको संलग्नता हुनसक्ने आशंका छ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको दाहालले जानकारी दिए। उनीहरूलाई शिक्षा ऐन २०२८ अनुसार परीक्षामा अमर्यादित गतिविधि गर्न नहुने कसुरमा मुद्दा चलाइने उनले बताए।


