काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई पत्र काटेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले प्राधिकरणलाई टिकटक बन्द गर्न आदेशात्मक पत्र पठाएपछि प्राधिकरणले पनि सेवा प्रदायकहरूलाई सोही व्यहोराको पत्र पठाएको हो।
प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार टिकटक बन्द गरेकोबारे टिकटक मुख्यालयलाई पनि खबर गरिएको छ।
‘मन्त्रिपरिषद् बैठकको निर्णय आएपछि सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं। टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौं। २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ,’ उनले भने।
टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्नुको सट्टा बन्द गर्नु अनुचित भएको भन्दै सरकारको आलोचना गरेका छन्।
छोटा भिडियोहरू सेयर गर्न सकिने टिकटक सामाजिक सञ्जालकै प्लेटफर्म हो। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो सञ्जाललाई भारत, अमेरिका, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, युरोपेली युनियन, क्यानडा र ताइवानलगायतका देशले बन्द गरिसकेका छन्।


