काठमाडौँ- शंखरापुर नगरपालिकाको साँखुमा ८ रात ९ दिनसम्म चल्ने बज्रयोगिनी माईको जात्रा सुरु भएको छ। बिहीबार नगरको उत्तरतिर रहेको मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीको मूर्तिसँगै चिभा:द्य: (प्राचीन स्वयम्भू चैत्य), सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याएसँगै यो जात्रा सुरु भएको हो।
यो जात्रा करिब ९०० वर्ष पुरानो मानिन्छ। जात्रा अवधिभरि पाँच थकाली गुर्जुसहित तान्त्रिकदेवीको रूपमा मानिने बज्रयोगिनीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाउँदै पूजा अर्चना गर्ने चलन छ।
जात्रामा नायखीँ बाजा बजाएपछि जात्राभर साँखुनगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ घर बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने सांस्कृतिक परम्परा छ।
बज्रयोगिनी मन्दिरबाट उठाएको खट साँखुका चार टोलहरू(धुला, चलाखु, इला र सुनटोल)मध्ये एकमा राखिन्छ। यस वर्ष सुनटोलमा खट राख्ने पालो परेको छ।













