काठमाडौँ- कृत्रिम बौद्धिकताका क्षेत्रमा छोटो समयमा नै प्रख्याति कमाएको च्याट जीपीटी (ओपन एआई)ले सहसंस्थापक समेत रहेका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानलाई फायर गरेको छ। कम्पनीसँगको सञ्चारमा प्रष्ट नभएको आरोप लगाउँदै कम्पनीले सीईओलाई फायर हानेको हो।
च्याटजीपीटीले सीईओ अल्टम्यानलाई फायर गरेपछि यसले सिलिकन भ्यालीमा तरंग पैदा गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा सबैभन्दा बढी मानिसहरूको नजरमा आउने अल्टम्यानलाई निकालिएपछि त्यस विषयमा सिलकन भ्यालीमा अनुमान लगाउनेहरूको संख्या पनि बढेको छ।
च्याट जीपीटीले सार्वजनिक गरेको वक्तव्यमा अल्टम्यानले कम्पनीलाई नेतृत्व गर्न सक्ने विश्वास गुमाएको जिकिर गरिएको छ। कम्पनीलाई अघि बढाउन नयाँ नेतृत्व आवश्यक परेको समेत उसले उल्लेख गरेको छ।
अल्टम्यानले भने ओपन एआई (च्याट जीपीटी)मा काम गर्दाताको समयप्रति कृतज्ञता व्यक्त गरेका छन्। ओपन एआईमा रहेका बेला आफूसँगै संसारलाई पनि परिवर्तन गराउन अवसर मिलेको उनको भनाइ छ। ‘यस्ता प्रतिभाशाली व्यक्तिहरूसँग काम गर्न पाएँ। यो सबैभन्दा खुशीको कुरा हो,’ उनले लेखेका छन्, ‘अब के त भन्ने विषयमा मैले पछि भन्नुपर्नेछ।’
अल्टम्यानलाई फायर गरेर कम्पनीले मिरा मुरातीलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ।
च्याटजीपीटी स्थापना गर्दाताका अमेरिकी व्यापारी एलन मस्क, पिटल थिएल र रेइड होफम्यानलगायतसँगै उनले काम गरेका थिए। सन् २०१९ मा अल्टम्यान सीओई बनेका थिए।
हालै भएको एसिया प्रशान्त आर्थिक साझेदारी (एपीईसी) को सम्मेलनमा अल्टम्यानले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा उनले हालसम्म हुन नभएको ठूलो फड्को एआईको विकासले ल्याएको बताएका थिए। उनले यसका लागि नियामक निकायलाई अझ बलियो बनाउनुपर्ने बताएका थिए।
उता बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले यसै वर्ष ओपन एआईमा लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ। तर पछिल्ला गतिविधिले आफूहरू र ओपन एआईबीचको सम्बन्धमा कुनै फरक नपर्ने माइक्रोसफ्टको भनाइ छ।


