काठमाडौँ- सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध काठमाडौँमा प्रदर्शन गरिएको छ। सामाजिक सद्भाव खल्बल्याएको आरोप लगाउँदै सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
टिकटक प्रतिबन्ध गरेर ‘प्रिय प्रम निरंकुश नबन’, ‘अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गर’, ‘टिकटक प्रतिबन्ध खारेज गर!’ लगायतका नारा लेखिएका प्लेकार्ड उनीहरूले प्रदर्शन गरेका थिए।
टिकटकमाथिको प्रतिबन्धपछि एकातिर सामाजिक सञ्जाल नियमन गर्ने दायित्वलाई पन्छाएर प्रतिबन्ध नै लगाउनु अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको भन्दै सरकारको आलोचना भइरहेको छ।
अर्कोतिर, टिकटक बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रतालाई खास फरक नपार्ने धारणा व्यक्त गर्नेहरू पनि उतिकै देखिएका छन्। प्रतिबन्धको पक्ष र विपक्षमा जनमत विभाजित छ।

टिकटकलाई प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन्। टिकटकमाथि प्रतिबन्ध लगाउँदा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरूले निर्णय बदरको आदेश मागेका छन्। ती निवेदनहरूको सुनुवाइ आगामी सोमबारका लागि तय गरिएको छ।
यता दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने प्रतिबन्ध प्रभावकारी रूपमा लागू गर्न भन्दै समिति गठन गरेको छ। प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिसँगै एक विज्ञसहितको चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको अध्यक्ष पुरुषोत्तम खनालले बताए। प्राधिकरणले टिकटकलाई पनि प्रतिबन्ध लागू गर्न सहयोग गर्नका लागि सहयोग माग्दै पत्रसमेत पठाएको उनले बताए।






