काठमाडौं- नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा एक हजार घर बनाउने भएको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा बसेको पदाधिकारी बैठकले भूकम्प प्रभावितका लागि घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ।
यसअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नमूना अस्थायी टहरा निर्माण गरेका थिए। भूकम्प प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि एकहजार घर निर्माण गर्ने घोषणा गरिएको थियो।
सोमबारको बैठकले भने प्रभावित क्षेत्रमा घर बनाउन दक्ष जनशक्ति पठाउने निर्णय गरेको महामन्त्री थापाले जानकारी दिए। ‘स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी घर बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका छौं,’ महामन्त्री थापाले भने। दक्ष जनशक्ति सहितको टोली लिएर नेता प्रदीप पौडेलको नेतृत्वमा सोमबार पहिलो टोली प्रभावित क्षेत्रमा गइसकेको छ।
थापाका अनुसार भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गर्नेछ। बैठकमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कामको ब्रिफिङ गरेका थिए भनेमहामन्त्रीको संयोजकत्वमा बनेको समितिले गरेका कामका बारेमा थापाले ब्रिफिङ गरेका थिए।
यस्तै बैठकले केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ। तर बैठकको मिति भने तोकिएको छैन।


