काठमाडौँ- गृह मन्त्रालयका काम प्रभावकारी बनाउन पूर्वराजदूत लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयमा जानकारी गराएका हुन्।
मन्त्रालयले कात्तिक २४ गते नै समिति बनाएको उनको भनाइ थियो। ७ वटा निकायको काम सुधार गर्ने योजना बनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन विभाग, स्थानीय प्रशासन तथा त्यसका सेवा प्रभाव, विपद् व्यवस्थापन र राष्ट्रिय परिचय पत्रलाई प्रभावकारी बनाउने विषयमा अध्ययन गर्न समिति बनाइएको गृहमन्त्री श्रेष्ठले बताए।
‘यी अध्ययन समितिले कानुनी वा नीतिगत सुधार गर्नुपर्ने भए सुझाव दिन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘यी सबै क्षेत्रको सुधार गर्न अध्ययन समिति गठन भएको हो।’ समितिले तीन महिनामा काम सम्पन्न गर्नुपर्नेछ।
समितिमा सदस्यहरू पूर्वसचिव शरदचन्द्र पौड्याल, पूर्वसचिव शंकरप्रसाद कोइराला, पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधिविज्ञ विजय गौतम सदस्य छन्।
संयोजक पौड्यालले पूर्वमुख्यसचिव तथा चीनका लागि नेपालका राजदूत भएर काम गरिसकेका छन्।


