काठमाडौँ- काठमाडौँको माइतीघर मण्डला र आसपासको क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंँको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता स्वागत नेपालले सर्वोच्चमा मंगलबार रिट दायर गरेका हुन्।
निषेध आदेशले शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गरेको रिटमा जिकिर गरिएको छ। यो रिटमाथि बुधबार सुनुवाइ गर्ने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।
निषेध आदेशको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग रिटमा राखिएको छ।
जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए।
दुर्गा प्रसाईं र एमालेले एकैपटक एकै समयमा माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेपछि काठमाडौँ प्रशासनले यस्तो निर्णय गरेको हो। प्रसाईका लागि बल्खुमा विरोध प्रदर्शन गर्न प्रशासनले ठाउँ तोकिदिएको छ।


