काठमाडौँ– जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपति निवास, प्रधानमन्त्रीनिवास सिंहदरवार र संसद् भवन आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यसअघि नै पद्योमदय मोडदेखि माइतीघर हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको काठमाडौँ प्रशासनले निषेधित क्षेत्र विस्तार गरेको हो।
मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन्।
सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए।
उता जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्म निषेधित क्षेत्र घोषणा गरेको छ।
निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन पाइँदैन। अनशन, धर्ना, विरोध, सभा, प्रदर्शनजस्ता नागरिकका अधिकारबारे आवाज उठाउने कुरा त टाढै रह्यो। प्रशासनको आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्ने चेतावनी सरकारले दिइसकेको छ।
यी क्षेत्र नेता र सरकारी उच्च अधिकारीहरूको आवागमन बढी हुन्छ। उनीहरुले देख्नेजति सबै क्षेत्रमा निषेध आदेश जारी गरेर प्रशासनले देशको शान्ति सुरक्षा बलियो बन्ने निष्कर्ष निकालेको छ। यद्यपि प्रशासनसँग निषेधित क्षेत्र विस्तार गर्ने अधिकार भएकाले अझ पनि निषेधित क्षेत्रको दायरा विस्तार हुने सम्भावना बाँकी छ।
जिल्ला सुरक्षा समितिको सिफारिस भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारीले निषेधित क्षेत्र सीमा विस्तार गरेका हुन्। शितल निवासको पूर्व पवित्र वर्कशपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।

प्रधानमन्त्री निवासको पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म पनि निषेधित क्षेत्र तोकिएको छ।
संसद भवन नयाँ बानेश्वरको चारैतर्फको सडकसम्म र यातायात व्यवस्था विभागदेखि पूर्वतर्फ मीनभवन चोकसम्म पनि प्रदर्शन गर्न निषेध गरिएको छ।
यता सिंहदरबार क्षेत्र आसपास पनि प्रदर्शन गर्न प्रशासनले रोकेको छ।
भद्रकाली मन्दिर पूर्व तीनकुने आइल्यान्डको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्म, त्यहाँदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट पूर्वी गेठ हुँदै हनुमानस्थान मन्दिरसम्म पनि प्रदर्शन गर्न रोक लगाइएको छ।
पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डल, माइतीघरदेखि हनुमानस्थान मन्दिरसम्म र बबरमहल जिल्ला अदालतको मोडको प्रवेशदेखि जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फको मोडसम्म निषेध गरिएको छ।
हरितगृह उपराष्ट्रपति कार्यालय नजिक रहेको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटल सिमानासम्म निषेध छ।
यसअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरले पनि पुल्चोकस्थित मन्त्रिक्वार्टर आसपास निषेधित क्षेत्र घोषणा गरिसकेको छ।
मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर केन्द्रित प्रदर्शन गर्न लागेका थिए। तर शान्ति सुरक्षा कायम गर्न र दंगा भड्किन नदिन भन्दै तारन्तार निषेधित क्षेत्र घोषणा गर्ने लहर सरकारले चलाएको छ।
अब युवा संघको प्रदर्शनका लागि तीनकुने र दुर्गा प्रसाईंको कार्यक्रमका लागि बल्खुमा ठाउँ तोकिएको छ।


ललितपुरको ६ महिने निषेध आदेश।


