काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई निकास दिने बाटो एमाले समात्नुपर्ने बताएका छन्। एमालेको केन्द्रीय समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले एमालेले देशलाई निकास दिने बाटो नसमाते अरुले त्यो रिक्तता पुरा गर्न नसक्ने बताएका हुन्।
‘हेर्दाहेर्दै कसैका खल्तीबाट भुर्र परेवा उडाउन सक्छ है,’ उनले भने, ‘जादू गर्दिए जस्तो गर्न सक्छ, चटक गर्दिएजस्तो गर्न सक्छ ।’ उनले आफूलाई मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लगत्तै आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस आफूलाई भइरहेको बताएका छन्। देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको उनले बताए। ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं,’ उनले भने, ‘जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन।’
यही मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ ।


