काठमाडौँ- महिलाहरुलाई बास बसेको स्थानबाट जबरजस्ती हटाउने कार्यको आलोचना भएपछि नेकपा एमाले रक्षात्मक देखिएको छ। एमालेका केन्द्रदेखि भातृसंगठन र तल्लो तलहसम्मका व्यक्तिले घुसपैठ भएको आरोप लगाएको छ। तर त्यसरी महिलालाई हटाउने युवा संघ सचिवालय सदस्य नै भएको प्रष्ट भइसकेको छ।
राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यक्रम बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको दाबी गरेको छ। युवा संघको नाम लिँदै दुर्गा प्रसाईंको अभियानमा सहभागी हुन आएका महिलालाई राति भक्तपुरको एक गेस्ट हाउसबाट लखेटेको थियो।
सुतेकै ठाउँबाट बाहिर निकालेको भिडिओ सार्वजनिक भएपछि एमालेको तीव्र आलोचना भइरहेको छ। उता युवासंघले भने यो आरोपको खण्डन गरेको गर्यै छ। यद्यपि आलोचना मत्थर भएको छैन।
युवा संघ अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको जिकिर गरेका छन्। ‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ,’ विज्ञप्तिमा जिकिर छ, ‘घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको बेहोरा जानकारी गराउँछौँ। यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ।’
युवा संघका सचिवालय सदस्य विनोद राईको नेतृत्वमा लोकन्थलीस्थित इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरु माथि दुर्व्यवहार भएको पुष्टि भएको छ। राई माओवादी हुँदै एमालेमा आएका हुन्। उनको घर खोटाङ भएको बताइएको छ। उनै राईले यसअघि प्रसाईँलाई कालोमसोसमेत दलेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा महिलाहरुलाई लखेटेको भिडियोबारे टिप्पणी गर्दै आफ्ना कार्यकर्ताले त्यसो गर्न नसक्ने जिकिर गरे। बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले उक्त भिडियो बनाइएको जिकिर गरे।
‘युवा संघले यसो गर्यो भनेर एउटा भिडियो आएको देखियो। त्यो आफैं बोक्सी, आफैं झाँक्री जस्तो देखिन्छ। युवा संघको यस्तो क्रियाकलपा होइन। युवा संघका साथीहरुले हामी यसमा संलग्न छैनौं भनेका छन्,’ उनको दाबी छ। एमालेलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने प्रयास गरिएको हुनसक्ने बताए। एमालेलाई आरोपित गर्ने उक्त षड्यन्त्र स्वीकार नहुने पनि ओलीले बताए।

उता मोरङबाट काठमाडौँ आएको बताउने सिर्जना राईले बुधबार दुर्गा प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनमा राईले एमालेको कार्यकर्ताहरूले गएराति १० बजेको समयमा लुगा पनि लगाउन नदिई बाहिर निकालेको आरोप लगाएकी छन्।
‘हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ। ३०/३५ जनाको झुण्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो’, उनले आक्रोश पोखिन्।
भिडियो
‘लघुवित्तले मार्न आँट्यो, यसै मरौँला, उसै मरौँला भनेर काठमाडौँ आएको’ भन्दै उनले काठमाडौँमा झन्डै इज्जत लुटिएको बताइन्।
पत्रकार सम्मेलनमा उनको भनाइ जस्ताको जस्तै:
मेरो नाम सिर्जन राई हो। मोरङबाट आएको हो माइक्रोफोन समातेर अहिलेसम्म बोलेको छैन। म सत्य मात्रै बोल्छु। छातीमा हात राखेर कसम खान्छु। लघुवित्त र सहकारीले गर्दा पीडित भएर निस्किएको हो। सत्य के हो, असत्य के हो ? कांग्रेस र एमालेलाई पनि भोट हाल्यौँ। रातभरि भोट माग्न हिँडेको मान्छे।
प्रचण्ड जस्तै जंगलजंगलमा हिँड्यौँ। आज हामी आफ्नै ठाउँमा दुःख, सुख भोग्दै गर्दा लघुवित्तले मार्न आँट्यो। दुर्गा दाइ नै सत्य रहेछ भनेर लायो। गरिबको लागि सत्य रहेको रहेछ। हामी बाच्न चाहन्छौँ। हामीले ऋण खाएको हो। हामीलाई गाँस बास र कपास दिने सरकारले हामीलाई नै रोडमा निकालेको छ। जसरी नि मर्ने नै हो भनेर काठमाडौैं आएको हामीलाई एमालेको झोलेहरूले राति १० बजेको बेला आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले। हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ।
३०/३५ जनाको झुन्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो। तर, तिनीहरूसँग भागेर जाँदैनौँ। नेपालका नारीको अस्तित्व कसले जोगाउने ? अस्मिता जोगाउन सडकमा निस्कियौँ। एउटा भाइले भन्यो, दिदी नमस्कार। उसले त्यो दिदिलाई कपडा त लगाउन देऊ भन्यो।
पाँच मिनेटमा निक्ली भनेर धम्की आएपछि सडकमा निस्कियौँ। प्रशासनलाई खबर गर्न सफल भयौँ। पछि प्रहरी आए। प्रहरीले होटेलमा पुर्याए। यो नेपालमा हामी महिलाको सुरक्षा रहेनछ भन्ने लाग्यौँ। हामी महिला जाग्यौँ भने यो देश हामी बनाउँछौँ। पद पाएर बसेको सरकारले हाम्रो शब्द सुनिदिनुपर्यो। त्यो गुन्डाहरूको होइन। हामी गरिबको शब्द सुनिदिनुपर्यो।


