काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको अन्तिम छटपटीमा पुगेको दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ उनले भने।
पराजित भइसकेका सामन्तीले अन्तिमपटक टाउको उठाउन खोज्ने संसारको नियम नै भएको र अहिले पनि त्यही कोसिस भइरहेको उनको भनाइ थियो। ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ,’ दाहालको चेतावनी छ।
प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताए। कार्यक्रममा राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका थिए।
सभामा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, नागरिक अगुवा मल्ल के. सुन्दरलगायतले बोलेका थिए।
