काठमाडौँ- सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको आरोपमा प्रेस काउन्सिलले १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिमको कारबाही गरेको काउन्सिलले बुधबार विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।
काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चारमाध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको जनाइएको छ।
‘आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्तिलगायतका भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाललाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।


