काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उल्लेख गरेका हुन्।
अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे।
‘प्रश्न हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो काम गर्ने प्रक्रियामा, शैलीमा, सुशासनको सन्दर्भमा हामीले गर्नुपर्ने समयले माग गरेअनुसारको राज्य सञ्चालनमा सबै तहका प्रदेश, संघ, स्थानीय सरकार सञ्चलनका क्रममा सुशासनको, जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तीव्र गतिमा गर्नुपर्ने सुधारहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ,’ उनले भने, ‘अहिले भएका गतिविधिले हामीलाई त्यसतर्फ बढी केन्द्रित गराउन प्रेरित गरेको छ।’
समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न उठेको उनको भनाइ थियो। संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरु ध्यान केन्दित गर्न जरुरी रहेको बताए।
खड्काले नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजमा नकारात्मक रुपमा प्रभाव पारेको उल्लेख गरे।


