काठमाडौं- क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ। पौड्यालविरुद् सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोप उजुरीमा छ।
आफ्नी छोरीलाई स्वीट्जरल्याण्ड पठाएर आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै दूतावासका कर्मचारीमार्फत त्यहाँका कर्मचारीकै आवासगृहमा राखेर छोरीलाई पढाएको समेत आरोप लागेको छ। समितिमा परेका उजुरीहरुमा पौड्यालविरुद् खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैं जाने र भत्ता आर्जन गर्ने गरेको आरोपसमेत लगाइएको छ।
पौड्यालविरुद् परेको अर्को उजुरीमा परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत व्यापक लापरवाहीपूर्ण ढंगले राजदूत नियुक्त गरिएको भन्दै सो निर्णय फिर्ता लिनुपर्ने माग गरिएको छ।
सरकारको निर्णयपछि संसदीय सुनुवाई समितिले राजदूतमा सिफारिस भएका उनीमाथि छानबिन थाल्दै उनको नियुक्तिविरुद्ध उजुरीका लागि सार्वजनिक आह्वान गरेको थियो। हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
पौड्याल यही २० मंसिरमा सेवाबाट अवकाश पाउँदैछन्। उनको नियुक्तिका विषयमा आइतबार संसदीय सुनुवाई समितिले सुनुवाई गर्दैछ।


