काठमाडौँ- संसदीय सुनुवाइ विषेश समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई राजदूत बनाउन सर्वसम्मत निर्णय गरेको हो।
परराष्ट्र सचिवको जिम्मेवारीमा रहेकै बेला सरकारले पौड्याललाई क्यानडाका लागि राजदूत बनाउने सिफारिस गरेको थियो। राष्ट्रपतिले नियुक्तिको प्रमाणपत्र प्रदान गरेपछि पौड्यालले औपचारिक रुपमा राजदूतको कार्यभार सम्हाल्नेछन्।
पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ।
पौड्यालविरुद् सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोप लागेको थियो।
आफ्नी छोरीलाई स्वीट्जरल्याण्ड पठाएर आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै दूतावासका कर्मचारीमार्फत त्यहाँका कर्मचारीकै आवासगृहमा राखेर छोरीलाई पढाएको भन्दै समितिमा उजुरी पुगेको थियो। पौड्यालविरुद् खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैं जाने र भत्ता आर्जन गर्ने गरेको आरोपसमेत लागेको थियो।
पौड्यालविरुद् परेको अर्को उजुरीमा परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत व्यापक लापरवाहीपूर्ण ढंगले राजदूत नियुक्त गरिएको भन्दै सो निर्णय फिर्ता लिनुपर्ने माग गरिएको थियो।
पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। उनले मंसिर २० गते सचिव पदबाट अवकाश पाउन लागेका थिए।


