ताप्लेजुङ– एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडी तोडफोड भएको छ। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले योगेशको गाडीमाथि आक्रमण गरेका हुन्।
भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताए। आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको थियो।
भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो। सिसाहरु छरपस्ट भए पनि गाडीमा सवार कसैलाई पनि चोटपटक नलागेको एमालेले जनाएको छ।
यसअघि दिउँसो एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो। उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए।
ताप्लेजुङमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए। दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको हो।
कोशी प्रदेशको नाममा चित्त नबुझाएका पहिचान पक्षधरले पुनः नामकरण गर्नुपर्ने माग गर्दै आएका छन्। यसअघि एमालेकै प्रदेश सांसद मेन्याङ्बो, माओवादीका इन्द्र आङ्बोलगायतका नेतामाथि ताप्लेजुङमा आक्रमण भएको थियो।


