सोल- दक्षिण कोरिया, जापान र चीनका कूटनीतिज्ञहरूले ‘सकेसम्म चाँडै’ त्रिपक्षीय शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्। चार वर्षभन्दा अधिक समयमा त्रिपक्षीय विदेशमन्त्रीस्तरीय बैठकपछि दक्षिण कोरियाका विदेशमन्त्रीले यस्तो बताएका हुन्।
बेइजिङले वासिङ्टनसँग टोक्यो र सोलको गहिरो सुरक्षा सम्बन्धमा बढ्दो चासो देखाएको बेला कोरियाली विदेशमन्त्री पार्क जिन, जापानी समकक्षी योको कामिकावा र चिनियाँ समकक्षी वाङ यीबीच दक्षिणी बन्दरगाह सहर बुसानमा विदेशमन्त्रीस्तरीय बैठक बसेको हो।
उत्तर कोरियाले उसको पहिलो सैन्य जासुसी उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको केही दिनपछि नै त्रिपक्षीय बैठक बसेको हो। उत्तर कोरियाको उक्त कदमपछि दुवै कोरियाबीच ५ वर्ष पुरानो सैन्य सम्झौता निलम्बन भएको छ। उक्त सम्झौताको उद्देश्य कोरिया प्रायद्वीपमा तनाव कम गर्नु थियो।
दक्षिण कोरिया, जापान र चीनका नेताहरूबीचको शिखर सम्मेलनको आयोजना विदेशमन्त्रीहरूको बैठकको एजेन्डाको सूचीमा शीर्ष स्थानमा थियो।
‘तीनै जना विदेशमन्त्रीले त्रिपक्षीय सहयोग प्रणालीको शिखर सम्मेलनलाई यथाशीघ्र, पारस्परिकरूपमा सुविधाजनक समयमा आयोजन गर्ने पुष्टि गर्नुभएको छ,’ बैठकपछि दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले पत्रकारहरूसँग भने।
शिखर सम्मेलनका लागि कुनै विशेष समयसीमा उल्लेख नगरेका उनले थपे, ‘हामी आवश्यक तयारीका लागि तीव्रता दिन सहमत भएका छौँ।’
दक्षिण कोरिया र उसको पूर्वऔपनिवेशिक शासक जापानबीच कूटनीतिक तथा ऐतिहासिक विवादहरूका कारण सन् २०१९ पछि कुनै पनि नेताहरूको शिखर सम्मेलन आयोजना भएको छैन। कोरिया प्रायद्वीपमा सन् १९१० देखि सन् १९४५ सम्म जापानको शासनलाई लिएर दुवै मुलुकबीच कानूनी विवाद चलिरहेको छ।
बिहीबार दक्षिण कोरियाली अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै जापानलाई दोस्रो विश्वयुद्धका क्रममा जबरजस्ती यौन दासत्वका लागि १६ महिलालाई क्षतिपूर्ति दिन आदेश दिएको थियो।
त्रिपक्षीय वार्ता हुनुअघि दक्षिण कोरियाली समकक्षीसँगको द्विपक्षीय बैठकमा जापानका विदेशमन्त्री कामिकावाले फैसलालाई ‘अत्यन्त खेदजनक’ भन्दै सोलसँग ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’लाई सच्याउन कदम चाल्न अनुरोध गरेका थिए।


