काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा सुरू भएको छ। बुधबारसम्म चल्ने बैठकमा पार्टीका विभिन्न प्रस्तावमाथि छलफल हुने रास्वपाले जानकारी दिएको छ।
बैठकमा पार्टीको दीर्घकालीन नीतिबारे विमर्श हुने उपसभापति डोलप्रसाद (डिपी)अर्यालले बताएका छन्। प्रदेश सभापतिहरूलाई पनि बोलाइएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। यसका अतिरिक्त प्रदेशहरूले राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गर्नेछन्।
बैठकमा समग्र पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूले सम्पादन गरेका कार्यको मिहीन समीक्षा हुने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।
महाधिवेशन प्रक्रिया सुरु गर्ने तयारीमा रहेको रास्वपाले महाधिवेशनको विधि र प्रणालीबारे पनि बैठकमा छलफल गर्ने महामन्त्री ढकालले बताए।
महामन्त्री मुकुल ढकालसहितको तीन सदस्यीय कार्यदलले पार्टीको राजनीतिक दस्तावेजको खाका बनाएको थियो। त्यसमाथि पनि छलफल हुने रास्वपाले बताएको छ। यसअघि उक्त प्रतिवेदनमा नै आधारित भएर रास्वपाले काठमाडौंमा बौद्धिक मन्थन पनि गरेको थियो।


