काठमाडौँ- देशभरका कारागारमा योग शिविर चलाइने भएको छ। योगाभ्यास संस्कृतिलाई जीवनशैलीकै पक्ष बनाउने गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभरका कारगारमा योगशिविर सञ्चालन गर्ने योजना अघि सारेका हुन्।
मन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।
एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्।
नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०-७० जनाले योग्याभ्यास गर्नेछन्। पटकपटक शिविर संचालन गरी सबैलाई योगाभ्यास गराइने छ।
यसअघि नक्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ।


