गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने बताएका छन्। नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उहाँले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वाससमेत व्यक्त गरे।
‘अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको छ,’ उनले भने, ‘हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउनेछौँ ।’ २०६३ मंसिर ६ गते भएको शान्ति सम्झौतामा ६ महिनाभित्र सम्पन्न गर्ने भनिएको काम १७ वर्ष हुँदा पनि पूरा भएको छैन।
सरकारको एक सय दिनको कामले देशमा विकास र समृद्धिको आधार खडा भएको उनको भनाइ थियो। एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उनको भनाइ छ।
‘अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो।’
जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढङ्गको बनाएर नहुने भन्दै नयाँ ढङ्गको बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको दाबी गरे।


