काठमाडौँ- नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्याएको (ह्याक गरेको) आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन्।
पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी ढकालले पोखरा बाटुलेचौरमा डेरा बसी घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको सर्भर ह्याक गरेको आरोप उनीमाथि लागेको छ।
साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द अर्यालका अनुसार सेनाले उजुरी गरेपछि अनुस्धान गरी उनलाई नियन्त्रणमा लिइएको हो। ढकाललाई घरबाटै पक्राउ गरेर ल्याइएको हो।
ढकालले सेनाको साइटमा अनधिकृत प्रवेश गरेको भनिएपनि कुन-कुन विवरणमा कस्तो हानी पुर्याए भन्ने खुलेको छैन। ढकालविरुद्ध अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ।


