काठमाडौं- विश्वप्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले २७औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका छन्। आरोहणका लागि केही दिनभित्रै सगरमाथा आधार शिविर प्रस्थान गर्ने उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका हुन्।
सगरमाथा आरोहणको तयारी पूरा भइसकेको र आफ्नो टोलीका सबै सदस्य आधार शिविर पुगिसकेको पनि उनले जानकारी गराएका छन्।
गत वर्ष २६औं पटक सगरमाथाको चुचुरोमा पुगेका उनले सन् २०१८ देखि आफैँले बनाएका रेकर्ड तोड्दै आएका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाका नाममा २६ पटक सगरमाथा आरोहण गरेको र ८ हजार मिटरभन्दा अग्ला हिमाल ३९ पटक आरोहण गरेको कीर्तिमान गिनिजबुकमा दर्ज छ।
खुम्बु पासाङल्हामु गाउपालिकाको थामेका ५३ वर्षीय शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेका छन् भने ८ पटक चोयु, ३ पटक मनास्लु, ल्होत्स र केटु एकएक पटक गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल ३९ पटक आरोहण गरेका हुन्।
शेर्पाले यसअघि तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए। शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।


